Developed By Kuldeep Sharma

September 3, 2023

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन: नेता महर

मध्यविन्दु (नवरपरासी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए ।

नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भने – “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ ।

महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । कांग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।” वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गरे ।

कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो । “कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ”, उनले भने ।सामाजिक रुपान्तरणका लागि मुलुकमा कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेता महरले भने – “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा कांग्रेसको अहम भूमिका छ ।”

पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma