Developed By Kuldeep Sharma

September 9, 2023

कुशे गाउँपालिका मुलुककै पहिलो निःशुल्क शिक्षा र विद्यालय शान्ति क्षेत्र घोषणा

जाजरकोट जिल्लाको कुशे गाँउपालिकालाई मुलुककै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा भएको छ । सबै आवश्यक सुचकहरु पुर्ण भएपछि उक्त गाँउपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो।

अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि।सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पु¥याउने व्यवस्था उल्लेख गरिएअनुसार कुशेले यस अभ्यास सुरु गरेको छ । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले एक कार्यक्रमकाबीच घोषणा गरेका हुन्। उनले कुशेले गरेको यस अभ्यासलाई कर्णालीका अन्य जिल्ला र पालिकाले पनि अनुसरण गर्नु पर्ने बताएका छन्। उनले यस अभ्यासका लागि कुशेवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

कुशे गाउँपालिकामा ४ वर्ष उमेरदेखि १२ वर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहँुचमा आएका छन् । प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म जम्मा ७ हजार ४ सय ८४ जना बालबालबालिकाहरुलाई कुशे गाउँपालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले मुलुकप्रेसलाई बताए ।

बस्नेतका अनुसार विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको, अपाङगता भएका ९ जना बालबालिकाहरुलाई घरमै विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको, ८ जना अपाङगता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत विद्यालयहरुमा पढ्ने सुनिश्चितता गरिएको छ । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाको सहयोगमा गाँउपालिकाले नेपालमै पहिलो अनिवार्य तथा निःशुल्क शिक्षा र विद्यालय शान्ति क्षेत्र पालिका कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिकामा रहेका ५५ वटै विद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिच २७ बुँदे विद्यालय संचालन तथा व्यवस्थापनको लागि सम्झौता, शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता कार्यान्वयन गरिरहेको छ । यस कार्यले विद्यालय शिक्षालाई प्रभावकारी बनाउने बस्नेतको भनाई छ। साथै, प्रधानाध्यापकहरुले विद्यालय शिक्षकहरुसँग कार्यसम्पादन करार सम्झौता गर्ने गरि कार्य अगाडि वढिरहेको छ ।

गाउँपालिका, वडा तथा विद्यालय स्तरमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन कार्यक्रमहरु संञ्चालन गरि सबै तहवाट प्रतिबद्धता गरी कार्यन्वयन भैरहेको अध्यक्ष बस्नेतले बताए ।

पालिकाभित्रका गरीब, विपन्न परिवार, एच.आई. भी एड्सबाट संक्रमित तथा प्रभावित परिवारका बालबालिका, द्धन्द्ध पिडित, टुहुरा बालबालिकाहरुलाई थप सहयोगका कार्यक्रमहरु विस्तार गर्ने उनले बताइएको छ। पालिकाले अपाङ्गताका कारण नियमित विद्यालयमा गएर पठनपाठन गर्न नसक्ने बालबालिकाहरुका लागी घरमै विद्यालयको व्यवस्था गर्ने समेत बस्नेतले बताए ।

कुशे गाउँपालिको शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५, शिक्षा नीति तथा रणनीतिक योजना २०७७ र प्रारम्भिक बालविकास एकीकृत नीति तथा रणनीति योजना २०७७–२०८२ निर्माण गरि कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए ।

“अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, कुशे बासीहरुको इच्छा” भन्ने मुल नाराका साथ अनिवार्य आधारभूत शिक्षा कार्यक्रमलाई बालबालिकाले विद्यालय छोड्ने दर शुन्य बनाउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma