Developed By Kuldeep Sharma

September 12, 2023

को हुन् स्वर्गीय सुवास नेम्वाङ ?

काठमाडौँ। संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निधन भएको छ। संसदीय दलका उपनेता समेत रहेका ७१ वर्षीय नेम्वाङलाई बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीँ नेम्वाङको निधन भएको हो।

स्नातक अध्ययनका क्रममा विसं २०२८। २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

२०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गरेका नेम्वाङ २०५२ सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित भए । दुईपटक सम्म राष्ट्रियसभाको सदस्य भएका थिए। २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष।सभामुख रहे ।

उनी विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका छन्। नेम्वाङले २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापनका रुपमा समेत रहेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए।

नेम्वाङको पार्थिव शरीर आज दिनभरि श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma