काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कांग्रेसप्रति खनिएका छन्।
नेपाली कांग्रेसले उल्टो बाटो समातेको उनले आरोप लगाए। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले सरकारबाट बाहिरिनुपर्दाको तुष झिक्दै कांग्रेसले षड्यन्त्र गरेको आरोप लगाए।
‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो। कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्यो,’ अध्यक्ष ओलीले भने।
उनले राजनीतिक दलको आधारभूत मर्ममाथि कांग्रेसले प्रहार गरेको पनि बताए।
‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो। संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्यो। संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो,’ उनले भने।
एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निर्णय गरे पनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको ओलीको भनाइ थियो।
‘त्यसबेला एमाले सरकारसामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो। तर अदालतको परमादेशले सरकार बदलियो,’ उनले भने, ‘विकास अभियान फेरि एकपटक अवरुद्ध भयो। चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौं।’
प्रतिक्रिया