Developed By Kuldeep Sharma

March 27, 2024

काठमाडौं महानगर प्रमुख बालेनको आक्रोश : होर्डिङ बोर्ड देख्नेले सडक पनि देखोस्

balen sha

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले होर्डिङ बोर्ड हराएको सूचना भन्दै आक्रोश पोखेका छन्। कलंकीदेखि वसुन्धरासम्म ९ स्थानमा राखिएका सडकका होर्डिङ बोर्ड हराएको भन्दै महानगरले सूचना जारी गरेको छ।

चक्रपथ सुधार आयोजनाअन्तर्गत कंलकी–महाराजगन्ज सडक निर्माण सन् २०१५ मै सक्ने सम्झौता भए पनि अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाकाले कलंकीदेखि वसुन्धरासम्म व्यंग्यात्मक कुरा लेखिएको होर्डिङ बोर्ड राखेको थियो। होर्डिङ बोर्डप्रति आपत्ति जनाउँदै काठमाडौँ चक्रपथ सुधार योजनाले चैत २ गते सार्वजनिक सूचना जारी गर्दै महानगरलाई उक्त बोर्ड ३ दिनभित्र हटाउने चेतावनी दिएको थियो। महानगरले कथित अल्टिमेटम भन्दै उक्त बोर्ड हटाएको थिएन।

हाल उक्त बोर्ड गायब भएपछि फेरि महानगरपालिकाले बोर्ड हराएको सूचना जारी गरेको छ। यस विषयलाई लिएर प्रमुख शाहले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। उनले सडकबाट उपत्यकावासीले पाइरहेको सास्तीचाहिँ नेदेख्ने तर त्यही सडकको बोर्ड देख्ने भन्दै स्ट्याटस लेखेका छन्।

‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न् ।’
उनले यहि नजर बर्षौदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् भन्दै लेखेका छन्। दिएको अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेजस्तै समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma