काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन्। कँडेलले मन्त्रिपरिषद् विस्तार गरेर भोलि बिहीबार विश्वासको मत लिने बताइएको छ।
सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। माओवादीबाट मन्त्री हुनेको नाम टुङ्गो नलागेपनि माओवादीको भागमा मन्त्रालय टुंगो लागेको छ।
माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको छ।
एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिनेछ।
गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण गरेका मुख्यमन्त्री कँडेलले आठ वटा मन्त्रालय सम्हाल्दै आएका छन्। उनले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्।
प्रतिक्रिया