काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।
एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाई बहुमत देखिएको छ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन्।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन्। यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन्।
एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ।
प्रतिक्रिया