काठमाडौं। बडादसैँको पहिलो दिन जमरा राखेर घटस्थापना गरिन्छ। तर, बागलुङका सीमान्तकृत माझी समुदायले भने बर्सौंदेखि जमराबिना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन्। उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएको बताउछन्।
देवीलाई अकुंर मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र दशमीको दिन टीकाको साइतमा जमरा लगाउने परम्परा रहे पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराको प्रयोग नै गर्दैनन्।
आफ्ना पुर्खाले भनेअनुसार अनिष्ट हुने भय टार्नका लागि जमरा नराख्ने गरिएको हो उक्त समुदायको भनाइ छ। करिब डेढसय वर्षअघिसम्म जमरा राखेरै दशैं मनाउने गरेको भएतापनि त्यसपछि केहि अनिष्ट हुन सुरु गरेको भन्दै जमरा राख्न छाडेको स्थानीयले बताउछन्।
खनियाबास र मालढुंगामा बसोबास गर्ने माझी समुदायले अहिले घरमा जमरा नराख्ने चलन स्थापित भइसकेको छ। जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुन्दै आएका कारण उनिहरुले जमरा नराख्ने परम्परालाई निरन्तरता दिदै आएको हुन्।
घटस्थापनाको दिन जमरा छर्दा कन्याहरूको मृत्यु भएको कुरा आफ्ना पुर्खाबाट सुन्दै आएकाले त्यस समुदायले घरमा जमरा नराखेपनि कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउने गर्दछन्। त्यहाँ बसोबास गर्ने माझी समुदायको १७ वटा परिवारमा कसैले पनि जमरा नराख्ने बताए।
जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर र अनिष्ट रोकिएको उनीहरुको भनाइ छ। अहिले त्यहाँ माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने अनौठो मान्यता स्थापित भइसकेको छ।
प्रतिक्रिया