Developed By Kuldeep Sharma

May 9, 2022

गठबन्धनप्रति प्रचण्ड नै सशंकित : भने, ‘सहमतिविपरीत उम्मेदवारी दिन लगाएर कांग्रेसले धोका दियो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टी रहेको सत्ता गठबन्धनप्रति अविश्वास व्यक्त गरेका छन्। गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने आशंका जनाएका हुन्।

सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभामा अध्यक्ष प्रचण्डले गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको बताए। धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको समेत उनले बताए।

“बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन‚” उनले भने, “कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ। त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ। यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ।”

प्रचण्डले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट पनि मागेका छन्। गठबन्धनबाट कार्बाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्। गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई जिताउन उनले आग्रह गरे।

गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष काँग्रेसको भागमा परेको थियो। तर गठबन्धनको सहमति तोड्दै काँग्रेसले त्यहाँ अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी दर्ता गराएको थियो भने माओवादी केन्द्रले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षमा उठाएको थियो।

काँग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उम्मेदवारी फिर्ता नलिएपछि १९ गते गठबन्धनले सयुक्त विज्ञप्ती जारी गर्दै दुबै उम्मेदवारलाई कार्बाही गरेको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma