काठमाडौं । आज(बिहिबार) विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्ने गर्दछ ।
१ सय ३५ देखि शक सम्वत, ६ सय ३३ देखि मानदेव सम्वत, ९ सय ३६ देखि विक्रम सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।
नयाँ वर्षको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
सफलता प्राप्त गर्नका लागि आजको दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गरे काम सफल हुने मान्यता रहिआएको छ ।
आज बिहानै स्नान गर्ने, घरको सरसफाइ गर्ने, मिस्ठान्न परिकार खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर राम्रो रहने जनविश्वास रहेको छ ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।
प्रतिक्रिया