Developed By Kuldeep Sharma

May 9, 2022

‘ओलीको पार्टीलाई जिताए स्थानीय तह नै भंग गर्ने खतरा छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका लागि आफूले थुप्रै काम गरेको बताएका छन्। सोमबार धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमका सबै जिल्लामा आफ्नो जति बिकास निर्माणको काम कसैले नगरेको दाबी गरेका हुन्।

‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ। सबै ठाउँमा मैले काम पनि गरेको छु।’ उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको बताए। ‘तपाईँहरुलाई थाहा छ, यहाँ भारत भएर आउनुपर्ने थियो,’ देउवाले भने, ‘यहाँ २२ वटा पुल बनाए।

कर्णाली पारि पनि राति जान नपाउने अवस्था थियो। अहिले राति जान पाउने व्यवस्था मिलाएको छु।’ उनले धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिवद्धता जनाए। विकासको लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउदै उनले सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे।

देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याए। उनले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने बताए। ‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन्।

हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन्,’ देउवाले भने। संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ। ‘एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?,’ देउवाको प्रश्न छ।

एमालेलाई जिताउनु भनेकै संसद भंग गर्न म्यान्डेट दिन भएको देउवाले बताए। देउवाले भने, ‘ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्ने नै हो, यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुँदैन। ओलीजीले जितेको खण्डमा फेरि त्यही गर्ने हो।’

देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने बताए। साथै उनले गठबन्धनप्रति इमान्दार बन्न पनि कार्यकर्तालाई निर्देशन दिए। पार्टीका बागी उम्मेदवारलाई विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ। उम्मेदवार फिर्ता नलिए कारवाही गरिने पनि देउवाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma