डडेलधुरा। कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट निष्कासित गरिएका नेता कर्णबहादुर मल्लमाथि खनिएका छन्।
गृहजिल्ला डडेल्धुराको गन्यापधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा मल्लमाथि खनिएका हुन्।
मल्ल कतैबाट परिचालित भएर एमाले अध्यक्ष ओलीको चाकडी र्ग थालेको देउवाले आरोप लगाए। उनले भने, ‘कांग्रेसको नेता बनाएको मान्छे अहिले विपी कांग्रेस भनेर हिँडेको छ । यिनीहरु कहाँबाट परिचालित छन, यस्ताका बारेमा भन्न पनि लाज लागेको छ । भोलिका दिनमा आफूपछिको नेता बनाउँला भनेको मान्छे त ओलीको चाकडी गर्न थालेछ ।’
नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर उम्मेदवार बनेकाहरू एमालेलाई सहयोग गर्न आएको उल्लेख गर्दै सभापति देउवाले त्यो भ्रम भएकाले कोही कसैका पनि कुरा नसुनी कांग्रेसलाई जिताउन स्थानीय मतदातालाई आग्रह गरे।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै विपी कांग्रेसको नाममा मल्लले जिल्लाभर स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गरेका छन्। त्यसपछि कांग्रेसले मल्ललाई निष्कासन गरेको छ।
देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहोर्याए। उनले मतदातासँग विकासका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह पनि गरे।
देउवाले भने, ‘यही मेरो घर हो र गाउँ पनि हो, यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्ने छु ।’
प्रतिक्रिया