Developed By Kuldeep Sharma

April 14, 2022

सुदूरपश्चिममा सिस्नुपानी छ्यापाछ्याप गर्ने ‘बिसु पर्व’ मनाइँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व मनाइँदै छ। नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गर्दछन्।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार बिसु पर्व मनाइने गरिन्छ। सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ।

यस्तै प्रदेशमा सिस्नो लगाएर पनि यो पर्व मनाउने गरिन्छ। देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन्। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको रहिआएको छ।

आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ। विशुपर्वलाई प्राय हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्यक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई वैसाखी अथवा बैशाखीको नामले चिनिन्छ । बैशाखीको दिनमा गंगा स्नानको ठुलो महत्त्व छ ।

भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गङ्गास्नान गर्नको लागि आउने गर्दछन् । बिशुपर्वलाई कतिपय ठाउँमा विशुसक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिशु पुज्ने दिन पनि भनिन्छ । भारतको आसाम राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् ।

नयाँवर्षको उपलक्षमा प्रत्यक ठाउँमा विशु पर्वको राती गल्लौडीको जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma