Developed By Kuldeep Sharma

May 10, 2022

राष्ट्रपति भण्डारीबाट सीता जयन्तीका अवसरमा शुभकामना

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिएकी हुन् ।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।

माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यसबखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ ।

युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन् । वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ ।

जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma