Developed By Kuldeep Sharma

May 10, 2022

झुटो बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहितका ६ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

गोहितसहित इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी झुट्टा बिल भरपाई बनाई ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको पाइएपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगले माँ जानकी निर्माण सेवाका प्रोपाइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव, अन्नपूर्ण कन्सट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध पनि आयोगले आरोपपत्र दायर गरेको छ।

आयोगले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर गोइत र पाठक विरुद्ध ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा बिगो दाबी गरेको छ भने तत्कालीन लेखापाल श्रेष्ठविरुद्ध २ लाख ५४ हजार ७१९ रुपैयाँ ७६ पैसा, निर्माण व्यवसायी भुपेन्द्रविरुद्ध २१ लाख २४० रुपैयाँ ९७ पैसा, विजयकुमार यादवविरुद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ ४५ पैसा र ममतादेवी यादवविरुद्ध १९ लाख १० हजार २३६ रुपैयाँ ७९ पैसा बिगो दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma