Developed By Kuldeep Sharma

May 12, 2022

कास्कीमा ५० मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा पारिँदै

पोखरा । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन्। निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो। बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ।

पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेका छन् । निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

‘‘अति संवेदनशील मतदानस्थलका रूपमा रहेका मतदानस्थलमा पनि सुरक्षा चुनौती भने छैन, ’’ उनले भने, “कुनै पनि मतदानस्थलमा सुरक्षा थ्रेट नरहे पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर मजबुत सुरक्षा व्यवस्था मिलाएका छौँ ।”

निर्वाचन बहिष्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने गरी निगरानी गरिरहेको प्रवक्ता तिवारीले बताए। जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ।

जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन्। पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।

जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ। गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको छ। पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ।

अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि शुरु भएको छ। सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन्।

मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारे सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन्। सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ। सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण शुरु भएको छ।

आज साँझ ५ः०० बजेसम्म नयाँका लागि मतदाता परिचयपत्र वितरण हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिृकत निलप्रसाद पनेरुले बताए। उनले भने, “निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। मतदान अधिकृतलगायत कर्मचारी तोकिएको स्थानमा पुगेर मतदानस्थल निर्माण सुरु गर्नुभएको छ। आजसम्म आवश्यक सबै काम सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma