Developed By Kuldeep Sharma

May 12, 2022

भरतपुरमा चुनावको तयारी तीव्र, पुरानो गल्ती दोहोरिन नदिन सचेत

चितवन । चितवनमा स्थानीय तह निर्वाचनका लागि मत गणनास्थल बनाउने कामलाई तीव्र पारिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा तयारी तीव्र पारिएको बताएकाे छ। २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक भने सुरक्षित मतगणनाको तयारी गरिएको हाे।

भतरपुर महानगरपालिकाको मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आयोगको निर्देशनपछि मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने, बत्ती जडान गर्नेलगायत काम भइरहेको छ। निर्वाचन आयोगले यसपटक मतपत्रको सुरक्षामा विशेष ध्यान दिएको छ।

शुक्रबार मतदान सकिएपछि सोही दिन मतपत्र मतगणना स्थलमा आइपुग्ने र सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने पौडेलले बताए। ‘मतगणना स्थलमा तीन तहका सुरक्षाकर्मीको परिचालन गरिने तयारी छ,’ पौडेलले भने, ‘विगतमा भएका अनियमितता सुधारका लागि यसपटक विशेष सुरक्षा व्यवस्था गरिएको छ। यसपटक विगतका गल्ती दोहोर्‍याउन दिँदैनौं, दलका प्रतिनिधिहरुले मतपत्र च्यात्न नसकून् भनेर विशेष व्यवस्था गरिएको छ। दलका प्रतिनिधि बस्नका लागि छुट्टै ठाउँ छुट्याइएको छ। प्रतिनिधिहरूले हेर्न मिल्ने तर छुन नमिल्ने तरिकाले मतगणनाको व्यवस्था मिलाइएको छ। मतगणनास्थलमा ८ वटा सीसी क्यामेरा जडान गरिएको छ।’

उनले बाहिर हल्ला आएजस्तो मतपेटिका साटिने सम्भावना पनि नरहेको बताए।

पौडेलका अनुसार भरतपुरमा निर्वाचनको तयारी सकिने क्रममा छ। मतदानका लागि खटाउनुपर्ने कर्मचारीहरु र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा गएका छन्। मतदान केन्द्रअनुसार आवश्यक संख्यामा मतपत्र रुजु गरेर पठाइएको छ। सबै ठाउँमा मतपत्र पुगिसकेको छ। उता जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाको सम्पूर्ण तयारी गरिसकेको छ।

भरतपुरमा यसपटक विगतका गल्ती हुन नदिने र शान्तिपूर्वक मतगणना हुने उनले बताए। २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्। यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यसपटक मतगणनाको सुरक्षामा कुनै कमी हुन नदिने बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मीलाई परिचालन गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma