काठमाडौं। निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय निर्वाचनको मतदानस्थलमा मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन लिन नपाइने जनाएको छ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि प्रकारका सामाग्री लिन नपाइने बताए।
यसबाहेक मतदान गर्न जाँदा लाइटर, सलाई, एसिड जस्ता कुनै पनि प्रकारको हातहतियार लिन पाइनेछैन। यस्तै, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा संकेतजन्य वस्तु मतदानस्थलमा लिन पाइनेछैन।
यससँगै मतदानका दिन वर्षा हुन सक्ने पूर्वानुमान भएकाले सोही अनुरुप सजगता अपनाउन पनि आयोगले मतदातालाई आग्रह गरेको छ।
वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नगर्न, निर्वाचन सामग्रीको सुरक्षा गर्न सरकार सम्बद्ध निकायलाई निर्देशन दिइएको छ।
निष्पक्ष तथा पारदर्शी र भयमुक्त वातावरणमा सञ्चालन गर्न सबै प्रकारका यातायात बन्द गराउन सरकारका गृह मन्त्रालयलाई लेखि पठाइएको छ।
प्रतिक्रिया