काठमाडौं । साउथ फिल्म आरआरआर भारतमा मात्रै होइन संसारभरका हजारौं हलमा एकसाथ प्रदर्शन भइरहेको छ। दर्शकको थामिनसक्नु भिड छ। फिल्मप्रति लोभलाग्दो फ्यान क्रेज देखेर यतिबेला यसका निर्देशक एसएस राजामौली मक्ख छन्।
उत्तिकै उनी चिन्तित पनि देखिएका छन्। किनभने, उनको यसअघि प्रदर्शन भएको फिल्म बाहुबलीको सफलता। कतिपयले बाहुबलीका दुबै श्रृंखलालाई आरआरले जित्न सक्छ भन्ने अनुमान लगाएका छन्। १८ सय १० करोड भारुभन्दा बढी बक्स अफिसमा कलेक्सन गरेको बाहुबलीको दोस्रो भागले भारतीय फिल्म इतिहासमै रेकर्ड बनाएको थियो।
तर आरआरआरको कमाइ कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ। २५ मार्चमा रिलिज भएको फिल्मको कमाइको रफ्तार बढिरहेको छ।
हिन्दी फिल्मका फ्यान, हिन्दी भाषा मात्रै बुझ्ने भारतीय दर्शक यतिबेला पनि दक्षिण भारतीय फिल्मप्रति आकर्षित हुन थाले। दर्शकको पछिल्ला रोजाइ बलिउड फिल्म बजारमा साउथ फिल्मले कब्जा गर्न थालेको छ।
‘बाहुबली सिरिज’बाट साउथ इण्डिन फिल्मका दर्शक बढाउने श्रेय एसएस राजामौलीलाई जान्छ। सुपरस्टार निर्देशकको ट्याग पाएका राजमौलीको अहिले प्रदर्शन भएको फिल्म ‘आरआरआर’ पनि उनले पाएको हिजोको मिहिनेत, लगाव र परिश्रम हो।
भारतीय मिडियामा उल्लेख भएको रिपोर्टअनुसार यो फिल्म निर्माणमा पाँच सय करोड खर्च भएको थियो। भरपूर एक्सन र प्रविधिका कारण फिल्म दर्शक तान्न सफल भयो।
बलिउडलाई विश्वकै दोस्रो फिल्म उद्योग भनेर व्याख्या गरिन्छ। तर, बलिउडभन्दा पनि उत्कृष्ट फिल्म दक्षिण भारतले दिन थालेको छ। बलिउड स्टार, बलिउडसँग सम्बन्धित सबै पक्षले अन्य यो उद्योगलाई हेपाहा प्रवृत्ति देखाइरहेका थिए।
तर, एकाएक साउथ फिल्म उद्योगले बलिउडमा राज गर्न सुरु गरेको छ। साउथ फिल्मको प्रमोशनमा सलमान, अमिताभ बच्चन, आमिर खान जस्ता स्टार कलाकारले सहजै साथ दिन थालेका छन्। तर साउथ फिल्मको सफलताले बलिउडकर्मीको टाउको भने दुखेको छ।
उत्कृष्ट विषय, प्रविधि र प्रस्तुतिले दक्षिण भारतीय फिल्मले एकपछि अर्को गर्दै सफलता हात पार्न थाले। बलिउडका वितरकहरूले भाषालाई गौणा मान्न थाले। दर्शकको लगाव बढ्न थालेपछि वितरकहरूले हिन्दीमा डब गरेर भए पनि दक्षिण भारतीय फिल्म किन्न थाले।
हिन्दीमा डब नगरिएका दक्षिण भारतीय फिल्मसमेत सबटाइटलकै भरमा पनि हेरिरहेका दर्शक पछिल्लो समय डब गरिएका, रिमेक गरिएका फिल्मप्रति झुमिन थालेका छन्। एउटा उदाहरण, ‘कविर सिंह’ फिल्मलाई लिन सकिन्छ। यसअघि साउथ इण्डियन फिल्मका प्रशंसकले विजय देवरकोंडाको ‘अर्जुन रेड्डी’ हेरेका थिए।
तर दक्षिण भारतीय फिल्मको रजगज बढ्न थालेपछि हिन्दी फिल्मका दर्शक घट्न थालेका छन्। यसको ज्वलन्त उदाहरण अक्षयकुमार अभिनित ‘बच्चन पाण्डे’लाई लिन सकिन्छ। जुन साउथ इण्डियन फिल्मको चपेटामा पर्यो।
भारतीय सिनेमा उद्योगमा प्रचलित भाषाहरूबीचको खाडल घट्दै गएको हो कि भन्ने महशुस पनि गराएको छ। भारत मात्र हैन, संसारभरका भारतीयसामु हिन्दी फिल्मभन्दा दक्षिण भारतीय फिल्मको क्रेज बढिरहेको छ।
रजनीकान्त, कमल हसन, चिरिन्जिवी, नागार्जुनजस्ता ठूला स्टारहरूले यसअघि दक्षिण भारतीय फिल्म उद्योगलाई उकासिसकेका थिए। तर, हिन्दी फिल्ममा उनीहरूको भूमिका खासै उल्लेख्य थिएन।
बुझ्नेले बुझे, हेप्ने प्रवृत्ति देखाउनेले त्यही व्यवहार देखाइरहे। साउथ कलाकारहरू सबैजसोको पहिचान पनि हिन्दी बेल्टमा मात्रै सीमित थियो। पछिल्लो समय हिन्दी फिल्म क्षेत्रमा दक्षिणी कलाकारहरूको क्रेज असाध्यै बढेको छ। आजभोलि हिन्दी फिल्मका दर्शकहरू तमिल, तेलुगु, कन्नड फिल्मका फ्यान बनेका छन्।
किन मानिसहरू अहिले दक्षिणको सिर्जशिलता मन पराइरहेका छन् ? अथवा हिन्दी फिल्मका फ्यानहरूबीच कसरी दक्षिणी फिल्मले कब्जा जमाइरहेको छ ? यसमा भारतीय पण्डितहरूले विभिन्न पक्षबाट विश्लेषण गर्न थालेका छन्।
बलिउड अनावश्यक स्टार दम्भमा रहँदा साउथ फिल्म मेकर्सले सिर्जनशीलतालाई विश्वास गरे। दर्शकले साउथका फिल्ममा नयाँ कथा र रचनात्मकता प्रस्तुति देख्न थाले।
के दक्षिणका फिल्मले बलिउडसँग प्रतिस्पर्धा गरेर बलिउडलाई पाखा लगाउन सक्ला ?
केही समयअघि दक्षिण भारतका सुपरस्टार जुनियर एनटीआरले भारतीय फिल्ममा उत्तर र दक्षिणको भिन्नता अब समाप्त भएको बताएका थिए। आजभोलि मै हुँ भन्ने हिन्दी फिल्म मेकर्सले पनि यसलाई मान्न थालिसकेका छन्।
त्यसो भए अब दक्षिण र उत्तरको लडाईं सकिएको हो त ? भारतीय फिल्ममा उत्तर र दक्षिणको भिन्नता समाप्त भएको हो ? के अब बलिउड, साउथ फिल्म नभनेर भारतीय सिनेमा मात्र छ भन्न सकिन्छ ?
सायद, दर्शक यो निस्कर्षमा पुगेका छन्। मेकर्सको सोच भिन्न भिन्न हुन सक्छ। केही समयअघि पनि दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनले पनि हिन्दी फिल्मबाट आफूलाई बलियो अफर नआएको बताएका थिए। उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘गतिलो प्रोजेक्ट पाएको छैन। नत्र किन काम नगर्ने ?’
आजभोलि यी स्टारहरूको जस्तै, धेरै साउथका कलाकारहरूको धारणा र सोच उस्तै छ। पछिल्लो समय प्रदर्शन भइरहेका साउथका फिल्मको सफलता, साउथप्रति दर्शकको चासो हेर्दा यसले बलिउडका व्यावसायिक सिनेमाहरूलाई पछि पारिरहेको छ।
दक्षिण भारतीय फिल्मले बलिउडको घरघरमा उनीहरूका लागि बफादार फ्यान बनाएका छन्। बाहुबली, रोबोट, केजीएफ, जय भीम, पुष्पा, आरआरआर जस्ता फिल्मको सफलता यसको ठोस प्रमाण हो।
बलिउडले समग्र दर्शकलाई एकताबद्ध गर्न नसक्नुको एउटा कारण मसालेदार बनाउने नाउँमा समाजमा जातीय ध्रुवीकरण गराउनु हो। यसको उदाहरण, हिन्दू-मुस्लिमबीच विभेद देखाइनू हो। जसले पनि भारतीय फिल्मप्रति दर्शकको आकर्षण घटेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।
फिल्म वितरक, प्रदर्शक तथा विश्लेषक राज बन्सलले केही समयअघि भनेका थिए, ‘हामी बिस्तारै राम्रो फिल्म बनाउन असफल भइरहेका छौं। हामीसँग प्रतिभाशाली कलाकारहरू छन्, धेरै राम्रा निर्देशकहरू छन्, तर हामीसँग सामग्रीमा कथा र विचारहरूको अभाव छ। विगतका केही फिल्मलाई हेर्दा कन्टेन्टमा हामी असफल भइरहेका छौँ। जबकि साउथले कन्टेन्टमा अग्रता लिइरहेको छ।’
नामै नसुनेका अल्लु, विजय, महेश, प्रभास, रामचरण, जुनिएर एनटीआरलगायत कलाकार अहिले भारतभर चर्चित बनिसकेका छन्। सलमान, शाहरूख र अहिलेका पुस्ताका बलिउड कलाकारहरूको फ्यानको तुलनामा साउथ स्टारको क्रेज थप बढेको पाइन्छ।
जतिबेला बलिउडको क्रेज थियो त्यसबेला हिन्दी फिल्मका अन्धभक्त दर्शकले दक्षिण भारतीय फिल्ममा देखाइएका एक्सन, कोरियोग्राफीलाई ट्रोल बनाएर मजाक गर्थे। तर, उनीहरू आफ्नो रफ्तारबाट विचलित भएनन्। अहिले त्यहि ट्रेण्ड दर्शक तान्ने मसला बनिरहेको छ। किनभने, हलिउड पनि एक्सनप्रधान फिल्ममा विश्वास गर्छ।
बलिउडको अर्को कमजोरी ‘नेपोटिजम’ पनि हो। दक्षिण भारतमा पनि नेपोटिजम छैन भन्न सकिन्न। तर यहाँ जति चर्चित कलाकार छन् उनीहरूको अभिनय प्रधान बनेको छ। स्टार कलाकारका सन्तान आफ्ना अभिभावकभन्दा स्टार बन्न सफल भइसकेका छन्।
बलिउडका चर्चित निर्माता करण जोहरले हालसालै एक फिल्मको प्रशंसा गर्दै पछिल्लो समय बलिउडले तेलुगु फिल्मले जति व्यापार गर्न नसकेको स्वीकारेका थिए।
मेकिङमा करोडौं खर्चिएको बलिउड फिल्म मेकर्सले प्रचार प्रसारमा पनि त्यस्तै फण्डा रच्छन्। तर, सामान्य प्रचारप्रसारकै भरमै दक्षिण भारतीय फिल्मले करौंडौं कमाइरहेका छन्।
प्रतिक्रिया