Developed By Kuldeep Sharma

May 15, 2022

१० उपमहानगर अपडेट : चारमा कांग्रेस, दुईमा माओवादी र एमालेको एउटामा अग्रता, कहाँ कस्तो छ?

प्रकाश देवकोटा, काठमाडौं। देशैभर स्थानीय तहको निर्वाचनको मत गणना भइरहेको छ। देशका ११ वटा उप महानगरपालिकामा विभिन्न दलहरुका उम्मेदवारले आफ्नो अग्रता बनाइ रहेका छन्। हामीले समग्र उपमहानगरको मतपरिणामबारे जानकारी दिने प्रयास गरेका छौं। यो समाचार तयार पर्दासम्मको अपडेट यस्तो छ।

इटहरी

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका हेम कर्ण पौडेलले लिड गरिरहेका छन्। उनले २६६२ मत ल्याएका छन्। उनलाई एमालेका यामकुमार चुनवाङ्ले पछ्याइरहेका छन्। उनले १९३४ मत ल्याएका छन्।
धरान

धरान उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसका किशोर राईले लिड गरिरहेका छन्। उनले २८४९ मतसहित अग्र स्थान बनाएका छन्। उनलाई एमालेकी मञ्जु भण्डारी सुवेदीले पछ्याउँदै छन्। उनको मत १४३६ छ। यहाँ मतान्तर दोब्बर देखिन्छ।

जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकामा भने कांग्रेसका बागी उम्मेदार मनोज कुमार साह सुडीले लिड गरिरहेका छन्। उनले १३७० मत प्राप्त गर्दा एमालेका शिव शंकर साहले ६४४ मत ल्याएका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदार बलराम महत्तोले पनि ४१४ मत ल्याएर पछ्याइरहेका छन्।

कलौया

बाराको कलौया उपमहानगरपालिका एमालेका विनोद प्रसाद साहले लिड गरिरहेका छन्। उनको हालसम्मको मत १२९५ छ। उनलाई नेपाली काँग्रसका राजेश राय यादवले पछ्याइरहेका छन्। उनले ७१७ मत ल्याएका छन्।

जीतपुरसिमारा

जीतपुर सिमारा उपमहानगरपालिकामा माओवादी केन्द्रका राजन पौडेलले लिड गरिरहेका छन्। उनको ३७०१ मत छ। उनलाई एमालेका सरस्वति देवि चौधरीले पछ्याइरहेकी छन्। उनको मत २२४६ छ। त्यहाँ लोसपाका सञ्जयकुमार साहले पनि १२६४ मत ल्याएका छन्।

हेटौडा

हेटौडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले लिड गरिरहेकी छन् । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ। लामाले २२४२ मत ल्याएर अग्रता बनाउदा राप्रपाका दिपक बहादुर सिंहले २१३७ मत ल्याएर पछ्याइरहेका छन्। त्यसैगरी एमालेका अनन्त प्रसाद पौडेलले २०३७ मत ल्याएका छन्। यसअघि अनन्त लामासंग २ मातान्तरले दोस्रोमा थिए।

बुटवल

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खगराज पाण्डेयले २२१४ मत सहित लिड गरिरहेका छन्। उनलाई एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ पनि सुरुवाती मातान्तर धेरै छ।

घोराही

दाङको घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले लिड गरिरहेका छन्। उनको ३१३७ मत छ। उनलाई एमालेका नरुलाल चौधरीले २७३१ मत ल्याएर पछ्याइरहेका छन्। त्यसैगरी राप्रपाका सरिता देवकोटाले पनि ६६१ मत ल्याएकी छन्।

नेपालगञ्ज

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका प्रशान्त बिष्टले लिड गरिरहेका छन्। उनले २८१२ मत ल्याएर अग्र स्थानमा छन्। त्यहाँ एमालेका पशुपति दयाल मिश्राले १४११ मत ल्याएर पछ्याइरहेका छन्। यहाँपनि मतान्तर दोब्बर छ।

धनगढी

कैलालीको धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदार गोपाल हमालले सुरुवाती लिड गरिरहेका छन्। उनको १४२८ मत छ। उनलाई नेपाली काँग्रेसका नृपबहादुर वडले पछ्याइरहेका छन्। वडको ८३९ मत छ। यहाँ पनि मतान्तर फराकिलो छ। धनगढीमा एमाले भने निक्कै कमजोर देखिएको छ। एमालेका रणबहादुर चन्दले १४९ मत मात्रै ल्याएका छन्।

दाङको तुलसिपुरमा भने मतगण्ना हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma