काठमाडौं। नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा भएको भागबण्डालाई लिएर असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका हुन्।
उनले सहमतीअनुसार भागबण्डा नभएको गुनासो पोखे। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि त्यसअनुसार जिल्ला तहको सिट बाँडफाँट भएन नेपालले गुनासो गरे। तर अध्यक्ष नेपाल महानगर र उपमहानगरको बिषयमा खुसी देखिएका छन्। कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार नदेखिएको उनले आरोप लगाए।
यसअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डा गरेको थियो । भागबन्डा अनुसार नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको प्रमुख पाउदा काठमाडौं महानगरपालिकाको उपप्रमुख पाएको थियो। हेटौडा उपमहानगरपालिकाको प्रमुख पाउदा इटहरी, बुटवल र तुलसिपुर उपमहानगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो।
यस्तै प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपप्रमुख पाएको थियो। त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा कांग्रेसले नै प्रमुख पाएको थिया भने जितपुर सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुख पाएको हो।
यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुख पाउँदा ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको थियो। जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख पाउदा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुख पाएको हो।
यस्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपाललाई विरगञ्ज महानगरपालिकाको प्रमुख र विराटनगर महानगरपालिकाको उपप्रमुख भागमा परेको छ । त्यस्तै जनकपुर उपमहानगरपालिका प्रमुखका साथै कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पनि जसपा नेपालको भागमा परेको छ।
प्रतिक्रिया