Developed By Kuldeep Sharma

June 2, 2022

पल शाहको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

काठमाडौं । एक नाबालिका गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक-पटक सुनुवाई सर्दै आएकोमा आज पलको निवेदनमाथि सुरुमै पेशी तोकिएको छ।

पलका वकिल कमला मोहन वाग्लेले न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको बताए। पल शाहले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरेका छन्। यसअघि गत साता पनि पेशी तोकिएको थियो।

न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए। पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए। यस्तै सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ।

तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma