Developed By Kuldeep Sharma

June 9, 2022

दीपक भन्छन्– छक्का पञ्जा आजीवन दीपाजीले नै निर्देशन गर्नुपर्छ भन्ने छैन

काठमाडौं। कलाकार तथा निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा’ सिरिज जोसुकै व्यक्तिले निर्देशन गर्न सक्ने बताएका छन्। हालसम्म दीपाश्री निरौलाले निर्देशन गर्दै आएको यो सिरिज आवश्यकताअनुसार अरू निर्देशकले पनि निर्देशन गर्न सक्ने दीपकको भनाइ छ।

दीपक र निर्देशक हेमराज बिसी सिनेमाको ‘स्क्रिप्ट लक’ गर्ने क्रममा छन्। अब यो चलचित्र हेमराजले निर्देशन गर्दै छन्। तर, चलचित्रको नाम के हो निश्चित भइसकेको छैन।

वर्किङ टाइटल ‘छक्का पञ्जा’ र ‘माग्ने राजा’ रहेको निर्देशक हेमराजले बताएका छन्। तर, नाम के हुने अझै तय नभइसकेको उनी बताउँछन्।

‘छक्का पञ्जा नै नहोला पनि भन्न सकिन्न । तर, नहुने सम्भावना पनि छ,’ दीपक भन्छन्, ‘किनभने, जुन हिसाबले स्क्रिप्ट डिजाइन गरिरहेका छौँ, त्यो छक्का पञ्जाभन्दा बाहिर गयो भने नाम अर्कै हुन्छ। छक्का पञ्जाजस्तै भयो भने त्यही नाम रहनेछ । कथाको रिप्रिजेन्ट टाइटलले गरोस् भन्ने पक्षमा हामी छौँ।’

उनी अगाडि भन्छन्, ‘छक्का पञ्जा भन्नेबित्तिकै दीपाजीले नै निर्देशन गर्नुपर्छ भन्ने पक्ष र सोचमा हामी छैनौँ । दीपाजी पनि त्यति धेरै कन्जरभेटिभ हुनु हुन्न । हामी उच्च व्यावसायिक छौँ । यो र यही व्यक्ति नै चाहिन्छ भन्ने छैन । छक्का पञ्जा आजीवन दीपाजीले गर्नुपर्छ भन्ने सोचमा हामी छैनौँ ।’ यो चलचित्र असारको पहिलो हप्ताबाट छायांकनमा जाने निर्देशक हेमराजले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma