Developed By Kuldeep Sharma

June 10, 2022

गोला हाल्यो की एमालेलाई फाइदै-फाइदा

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति गठनमा गोलाप्रथाबाट नेकपा एमालेले दुई जिल्लामा नेतृत्व पाएको छ। कपिलवस्तु र पर्वतको जिसस प्रमुखमा एमालेका उम्मेदवार गोलाप्रथाबाट निर्वाचित भएका छन्।

कपिल्वस्तुमा जिससको निर्वाचन हुँदा दुबै उम्मेदवारको समान मत आएपछि गोलाप्रथा हालिएको थियो भने पर्वतमा समान मत हुँदा कसले प्रमुख पाउने भनेर गोला हालिएको थियो। दुवै जिल्लामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

कपिलवस्तुमा जिसस प्रमुख/सदस्य उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट चुनिएको छ। १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका ज्ञान बहादुर कार्की र एमालेका बाबुराम आचार्यले प्रमुखमा उम्मेदवारी दिएका थिए।

मतदानमा दुवै जनाको १०/१० मत आएपछि गोला तान्दा एमालेका आचार्य निर्वाचित भएका हुन्। एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपाको समर्थन रहेको थियो। यस्तै, उपप्रमुखमा पनि एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन्। कुर्मी लोसपाका हुन्। कुर्मीले ११ मत ल्याएका छन्।

सत्तारूढ गठबन्धनबाट जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। समितिका ७ जना सदस्य पनि गोला तानेर निर्वाचित भएका छन्। जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन्।

यसैगरी, एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ पनि सदस्यमा निर्वाचित भएका हुन्। सदस्यहरूमा पनि सबैको १०/१० मत आएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको हो। कपिलवस्तुमा सत्तारूढ गठबन्धनसँग ११ मत र एमाले गठबन्धनमा ९ मत रहेको थियो।

यस्तै पर्वतमा एमाले र सत्ता गठबन्धनबीच बराबरी मतभार भएपछि गोला प्रक्रियाबाट दलहरूले भागबण्डा गरेका हुन्। जिसस गठनका लागि एमालेको ७ र गठबन्धनको ७ मत रहेको थियो। दुवै पक्षले प्रमुख पदमा दावी गरेपछि गोला प्रक्रियामा जाँदा एमालेले प्रमुख पाएको छ भने गठबन्धनबाट कांग्रेसले उपप्रमुख पाएको छ। दलहरूबीच सहमति गरेर ३ सदस्य एमाले र ४ सदस्य गठबन्धनले लिएका छन्। एमालेबाट जिसस प्रमुखमा विष्णुराम विकले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma