Developed By Kuldeep Sharma

June 12, 2022

न्याय प्राप्तिको लागि कुमारी आमाको रोदन

काठमाडौं। धनुषाकी निहारिका राजपुतको ०७६ साल कार्तिकमा साथीकै दाइले आफूलाई बलात्कार गरेको आरोप छ। काखमा २१ महिनाको बच्चा च्यापेर साढे दुई वर्षदेखि उनी न्यायका लागि गाउँदेखि राजधानीका सडकमा भौतारी रहेकी छिन्।

‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म पुगेकी थिएँ। उसको दाइले पटकपटक मनपराउँछु भन्दा पनि रेस्पोन्स गरेकी थिइनँ। तर मलाई त्यहीबेला खानेकुरामा नशालु पदार्थ पिलाएर बलात्कार गरियो,’ निहारिकाले भनेकी छिन्। निहारिकाका अुनसार त्यसबेला उनी कक्षा ११ मा पढ्थिन्, उमेर थियो १७ वर्ष। त्यसको एक महिनापछि गर्भवती भएको थाहा पाएकी उनी निरन्तर न्यायका लागि भौतारिरहेकी छिन्।

धेरैले बच्चा फाल्न सुझाव दिँदा पनि उनले मानिनन्, एक्लै हुर्काइरहेकी छिन्। कुनै जागिर नभएकी उनलाई कोठा भाडा तिर्न पनि सकस भइरहेको छ। न्यायका लागि उनी प्रहरीहुँदै अदालतसम्म त पुगिन् तर जिल्ला अदालत धनुषाले आरोपीलाई सफाइ दियो। त्यसपछि उनी न्याय खोज्दै काठमाडौं आएकी छिन्।

अदालतले आफूमाथि अन्याय गरेको भन्दै उनले महिला आयोगले पनि असहयोग गरेको आरोप लगाइन्। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनी चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्। त्यसैले ‘यो त हद भयो’ भन्दै शुक्रबारबाट उनले न्यायको मागसहित आमरण अनशन नै सुरु गरेकी छिन्।

जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको उनको आरोप छ। पहिलो दिन काठमाडौंको माइतीघरमा अनशनमा बसेकी उनी त्यहाँबाट प्रहरीले बलजफ्ती उठाए पछि उनी
दोश्रो दिन बसन्तपुरमा अनशन जारी राखेकी छिन्। न्यायको प्रत्याभुति नभएसम्म अनशन नतोड्ने उनको भनाई छ।

यस्तो छ उनको फेसबुक स्टाटस

नमस्कार, म कुमारी आमा निहारिका राजपुत। म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे। यसपछि मेरो कोखमा गर्भ पनि रह्यो। जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ।

म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला। जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो। प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो। जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ। म मेरै घर परिवारबाट तिरस्कृत हुनुपर्‍यो। जसको परिणति आजका दिनमा साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छु।

म न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपन पनि दिए। तर, म आफ्नो लडाइँमा अडिग थिएँ। जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढकाउन पनि पुगेँ। तर, कुनै सहयोग पाइनँ। उल्टै मलाई कमजोर बनाउने व्यवहार पाएँ।
परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि मैले हिम्मत हारेकी थिइनँ। मलाई विस्वास थियो, अन्तिममा न्यायलयबाट मैले न्याय पाउनेछु। तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायलय अपराधीको पक्षमा उभियो। धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो। अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन।

जिल्ला अदालतको फैसला उपर मैले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेँ। गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन। मेरो मुद्दालाई अदालतले लिंगरिङ मात्रै गरिरहेको छ। मेरो कुनै जागिर छैन। आफू र बच्चा बाँच्नु छ। अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?

मलाई न्यायलायको फैसलाप्रति फिटिक्क विस्वास छैन। न्यायलयले पीडितको पक्षमा फैसला गर्छ भन्ने विस्वास नै ममाथि उडेको छ। अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ। तर, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो भन्ने भएपछि म आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी छु। म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विस्वास छ।

मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुपर्‍यो। मजस्ता हजारौं निहारिकाहरुले न्याय पाउनुपर्‍यो। मेरा मागहरु मैले बूँदागत रुपमा पेश गरेकी छु।

१, मेरो बच्चाको डिएनए टेस्ट गरिनुपर्‍यो। काखमा बच्चाा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो।

२, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन। म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो।

३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो।

४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्‍यो। उनीहरुमाथि पनि छानबिन हुनुपर्‍यो।

५, मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्‍यो।
जबसम्म मेरा यी मागहरु पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन। त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma