युवराज न्यौपाने, कैलाली। लम्कीचुहा नगरपालिकाको मेयरमा एउटै पार्टीबाट २ जनाको उम्मेद्धारी दर्ता भएको छ। नेपाली कांग्रेसबाट शुशीला शाही र भक्त बहादुर थापाको उम्मेद्धारी परेको हो।
गठबन्धन दलबीच चुनावी तालमेल हुँदा लम्कीचुहाकोे मेयर कांग्रेसले पाएको थियो। शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त बहादुर थापालाई प्रदेश सभापति वीरबहादुर बलायरले टिकट दिएको बताइएको थियो।
कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पार्टीले जसलाई आधिकारिक मान्छ उसले चुनाव लड्न पाउने बताए। ‘पार्टीले आधिकारिक मानेको व्यक्ति रुख चुनाव चिन्हबाट चुनाव लडछन्,’ उनले भने, ‘अर्को उम्मेदबार स्वतः स्वतन्त्र हुन्छ।’
यता कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले भने शुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएका छन्। जिल्ला सचिव नृप सुनारले भने भक्तबहादुर थापा मेयरको आधिकारिक उम्मेदवार भएको बताइरहेका छन्।
लम्कीका निर्वाचन अधिकृत हिरालाल चौधरीले पनि काँग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गरेको बताए। निर्वाचन अधिकृत चौधरीले दुबै उम्मेद्धारले पार्टीको पत्र ल्याएका कारण उम्मेद्धारी दर्ता गरेको बताए। यस्तै लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षका लागि निवर्तमान वडा अध्यक्ष भक्त बहादुर चलाउनेले स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन्।
अहिले लम्कीचुहा नगरपालिका निर्वाचन कार्यलयमा विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले आफ्नो उम्मेद्धारी दर्ता गराइरहेका छन्। नेकपा एमालेबाट नगर प्रमुखमा महादेव बजगाईँ र नगर उप–प्रमुखमा जुना चौधरीको उम्मेद्धारी दर्ता गरेका छन्।
प्रतिक्रिया