Developed By Kuldeep Sharma

July 19, 2022

सहमतिपछि सुरु भयो तिलोत्तमाको नगरसभा

काठमाडौं। नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच भएको विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा सहमतिपछि सुरु भएको छ।

नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरी चौधरीबीच सोमबार साँझ छलफल भएपछि अहिले नगरसभा सुरु भएको हो।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीच भएको असमझदारी हटाउने, न्यायिक समितिमा नेपाली कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरू गठन गर्ने विषय समावेश गर्ने सहमति भएपछि नगरसभा सुरु भएको हो।

यसअघि न्यायिक समितिमा कांग्रेसका तर्फबाट एक जना सदस्य राख्न माग गरेको तर यही विषयमा एमालेले अस्वीकार गरेको भन्दै जनप्रतिनिधिबीच मतभेद सुरु भएको थियो।

नगरसभा शुरु गर्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीले कार्यपालिका बैठक बसेर सहज रुपमा नगरसभा सञ्चालन गर्ने र जनप्रतिनिधिलाई पोखरीमा खसाल्ने प्रहरी अधिकृतलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाउने सहमति भएकाले नगरसभा सुरु गरिएको जानकारी दिइन्।

यसअघि तिलोत्तमामा गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले २ पटक नगरसभा स्थगित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma