Developed By Kuldeep Sharma

April 29, 2022

सरकारले फेरि भन्यो : चीनसँग सीमा विवाद छैन

काठमाडाैँ। सरकारले उत्तरी छिमेकी मुलुक चीनसँग कुनै पनि सीमा विवाद नरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल र चीनबीच हालै गृहसचिवस्तरीय सुरक्षा संयन्त्रको बैठक सम्पन्न भएको जानकारी दिइन्।

‘चीनसँग हाम्रो सीमा विवाद छैन। हालै भएको गृहसचिवस्तरीय बैठकमा दुई पक्षबीच कसरी सूचना आदानप्रदान गर्न सकिन्छ भन्नेबारे छलफल भयो।’

चिनियाँ विदेशमन्त्री वाङ यीको मार्च अन्तिम साता भएको नेपाल भ्रमणका क्रममा आपसी परामर्शमा संयुक्त टोलीबाट सीमा अनुगमन गर्ने सहमति भएको थियो। नेपाल–चीन सीमा सन्धि अनुसार दुई देशबीचको सीमा शान्त र तनावरहित राख्न अनुगमन गर्ने सहमति भएको थियो।

६ महिनाअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँगको सीमा समस्या हल गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सरकारी टोली हुम्ला पठाएर स्थलगत अध्ययन गरेको थियो।

आचार्य नेतृत्वको टोलीले हुम्लामा सीमा समस्या देखिएको जनाउँदै त्यसका लागि चीनसँग संयुक्त रुपमा सीमा सुपरिवेक्षण गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो।
अहिलेसम्म गोप्य राखिएको उक्त प्रतिवेदन गृहले परराष्ट्र मन्त्रालयमा पठाएको थियो। त्यसलगत्तै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग कुनै सीमा विवाद नरहेको स्पष्टीकरण दिएकी थिइन्।

हुँदै नभएको सीमा विवादलाई बहसको विषय बनाएको भन्दै असन्तुष्ट चिनियाँ राजदूतले नेपाल सरकारलाई दिएको जवाफका रुपमा त्यसलाई अर्थ्याइएको थियो। पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग कुनै सीमा समस्या नरहेको बताए पनि देउवा नेतृत्वको सरकारले समस्या रहेको बताउँदै आएको छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठका अवसरमा उच्चस्तरीय भ्रमण आदानप्रदानको अपेक्षा दुवैतर्फबाट भएपनि भ्रमणको मितिबारे ठोस मिति तय नभएको बताइन्।

यद्यपी ७५ औँ वर्षगाँठका अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगले १९ देखि २१ अप्रिलसम्म तीन दिने र २२ अप्रिलबाट सिनेटर किस्र्टन जिलीब्रान्डको नेतृत्वमा ६ सदस्यीय अमेरिकी उच्चस्तरीय संसदीय टोलीले नेपाल भ्रमण गरेको उल्लेख गरिन्।

उनले हालै नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससको भ्रमण सफल भएको बताइन्। उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिको सराहना गरेको बताइन् ।

‘भ्रमणका क्रममा डा। टेड्रोसले नेपालले संविधानमै स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र स्वास्थ्यलगायत पूर्वाधार विकासमा गरेको प्रगतिको उच्च प्रशंसा गर्नुभयो’ उनले भनिन्।
प्रवक्ता लम्सालका अनुसार ऊर्जामन्त्री पम्फा भुसाल बीबीआईएन उर्जामन्त्रीस्तरीय फोरममा भाग लिन बंगलादेश भ्रमणमा छिन्।

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि मन्त्रालयले काम गरिरहेको उनले बताइन्। पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले राष्ट्रपति विद्यादेवी भण्डारीले चीनमा हालै सम्पन्न बोआओ फोरमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको उल्लेख गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma