Developed By Kuldeep Sharma

August 31, 2022

काभ्रे कांग्रेसका नेताहरूले भने– गठबन्धन सम्मानजनक हुनुपर्छ

काभ्रे। आसन्न संघीय निर्वाचनका लागि पार्टीको ‘जनताको साथमा कांग्रेस’ अभियानमा सहभागी भएका काभ्रेका कांग्रेस नेताहरुले निर्वाचनमा गठबन्धन सम्मानजनक हुनुपर्ने बताएका छन्।

काभ्रे क्षेत्र नं १ (ख) को क्षेत्रीय कार्यसमितिले पनौतीमा आयोजना गरेको कार्यक्रममा सहभागी नेताहरुले काभ्रेको सन्दर्भमा गठबन्धन गर्दा ‘ताजा जनादेश’लाई आधार बनाएर पार्टीले निर्णय गर्नुपर्ने बताएका छन्।

अभियानको लागि काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले काभ्रेमा कांग्रेसको पक्षमा माहौल देखिएको बताउँदै यसबारे पार्टीले उपयुक्त निर्णय लिनुपर्ने बताइन्।

‘पछिल्लो साता जिल्ला र काभ्रे क्षेत्र नं १ मा खटिएको छु, यहाँको माहोल, तथ्य र तथ्यांक कांग्रेसको पक्षमा छ,’ कार्यक्रममा बोल्दै उनले भनिन्, ‘पार्टीबाट उपयुक्त निर्णय गराउन तपाईहरू पनि लविङ गर्नुस्, म पनि आफ्नो ठाउँबाट प्रयास गर्छु।’

संविधानको रक्षाको लागि गठबन्धन आवश्यक भएपनि सिट संख्या निर्धारणमा व्यवहारिक निर्णय हुनुपर्ने उनको धारणा थियो।

यसैगरी अर्का केन्द्रीय सदस्य मधु आचार्यले गठबन्धन अहिलेको आवश्यकता भएकाले चिन्ता मान्नुपर्ने अवस्था नभएको बताए। यस्तै, केन्द्रीय सदस्य गणेश लामाले गठबन्धनको पक्षमा उभिँदै काभ्रेका ६ वटै संसदीय क्षेत्र कांग्रेसले लिनुपर्ने धारणा राखे।

कांग्रेस जिल्ला सभापति तीर्थ लामाले काभ्रेका १३ वटै स्थानीय तहमा कांग्रेस विजयी भएको भन्दै आसन्न संघीय निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउन पार्टीका सबै तह र तप्का परिचालित हुने बताए। जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईले जो जहाँ बलियो छ, सोही पार्टीलाई सिट दिनुपर्ने धारणा राखे।

यस्तै, नमोबुद्ध नगरप्रमुख समेत रहेका कांग्रेस नगर सभापति कुन्साङ लामाले स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत प्रतिनिधी सभा÷प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारले पाउने बताए। अर्का कांग्रेस नेता रामकृष्ण हुमागाईले बहुमत सिट पाउने गरी गठबन्धनमा सहमति हुनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता इन्द्रमणि अधिकारी, तीर्थ पसखल, कमला थापा, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, वाग्मती प्रदेश कार्यसमिति सदस्य विक्रम लामा, प्रतिनिधी सभा क्षेत्र नं १ सभापति दिनेश लामा, महासमिति सदस्य सार्कीमान बल, जयन्ती हुमागाई, महाधिवेशन प्रतिनिधी इश्वरी ओझा, पनौती नगर सभापति समेत रहेका नगर प्रमुख रामशरण भण्डारीलगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma