Developed By Kuldeep Sharma

भदौ २७, २०७९

निर्वाचनमा खटिनेछन् झन्डै तीन लाख सुरक्षाकर्मी

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

सुरक्षा समितिले स्वीकृत गरेको ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ अनुसार निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, ७१ हजार नेपाल प्रहरी र ७५ हजार सैनिक परिचालित हुनेछन्।

सुरक्षा निकायलाई ३ तहको सुरक्षा घेरामा परिचालन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए। बैठकमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, सह–सचिव पोखरेल र नेपाल प्रहरीका डीआईजी वसन्त कुँवर लगायत सहभागी थिए।

केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले स्वीकृति दिनुपर्छ। राष्ट्रपतिले सेना परिचालन गर्ने निर्णय गरेपछि एकीकृत सुरक्षा योजनाअनुसार जिल्ला सुरक्षा समितिले जिल्लामा अन्तिम तहको सुरक्षा घेरामा सेनालाई परिचालन गर्नसक्ने कानुनी व्यवस्था छ।

एकीकृत सुरक्षा योजनाअनुसार पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेना रहने निर्णय गरिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी ३ तहमा वर्गीकरण गरिएको छ। सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी, संवेदनशीलमा ३ प्रहरी ६ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी र ९ जना म्यादी प्रहरीलाई खटाउने निर्णय गरिएको छ।

मतदानस्थल र केन्द्रको संख्या निर्वाचन आयोगले एकिन गरिसकेको छैन। आयोगले त्यसबारे भदौ ३१ मा निर्णय गर्ने बताइएको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठूला हतियारको समस्या छैन। तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरीले जनाएको छ। प्रहरीले अपुग हतियार सेनासँग सापट माग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma