Developed By Kuldeep Sharma

May 1, 2022

को हुन् नेपाल प्रहरीको २९ औं आईजीपी सिंह ?

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ ‍‌औं प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन्।

आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका सिंहले वैकल्पिक सूचीमा परेर २०४९ चैतमा नियुक्ति लिएका थिए। ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन्। सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए। एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए। २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन्।

आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए। पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो। सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन्।

०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो। एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए। सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ। सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ।

आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन्। ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरू रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो।

आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए। तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गरेका थिए।

विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो। प्रहरी नियमावली-२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ। तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ। हालका आईजीपी क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma