काठमाडौँ- आईजीपी बढुवामा असन्तुष्ट दुई एआईजीले बिदा लिएका छन्। एआईजी विश्वराज पोखरेल र सहकुल थापाले बिदाका लागि निवेदन दिएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ।
श्रोतका अनुसार पोखरेलले एक महिना र थापाले १० दिनको बिदा लिएका हुन्। तर उनीहरु दुवै जनाको बिदा स्वीकृत भएको छैन। आइतबार अपरान्ह दुवैले बिदाका लागि निवेदन दिएको तर अवकाश भइसकेका आईजीपी शैलेश थापा क्षेत्रीले स्वीकृत नगरेको प्रधान कार्यालय श्रोतले जानकारी दियो।
एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ। अब सोमबारदेखि आईजीपी धिरजप्रताप सिंह हुने भएकाले उनले नै बिदा स्वीकृत गर्नेनगर्ने निर्णय गर्नुपर्नेछ। सिंहलाई बिहान पौने ९ बजे नै गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भइसकेको छ।
शैलेश थापा आज साँझै प्रधान कार्यालयबाट पनि बिदा भइसकेका छन्। आईजीपी नबनेसँगै असन्तुष्ट दुई एआईजीले भने मुद्दा लड्ने तयारी गरेका छन्। नभएको दरबन्दी सिर्जना गरेर एमालेले पालैपालो उनीहरुलाई एआईजीमा एकल बढुवा गरेको थियो। एमाले सरकारमा हुँदा अगाडि बढेका उनीहरु त्यही वरीयता खोजिरहेका छन्। भर्ना भएदेखि एसपीसम्म दुवै जना वरीयतामा निकै पछाडि थिए।
हालका डीआईजीहरु दिवेश लोहनी, उत्तमराज सुवेदी र वसन्त लामाभन्दा पनि पोखरेल र थापा पछाडि थिए। पोखरेल एसएसपीबाट र थापा डीआईजीबाट सिंहभन्दा अगाडि लागेका थिए।
मानव श्रोत विभागमा कार्यरत एआईजी विश्वराज पोखरेल प्रायः प्रहरी प्रधान कार्यालयमै बास बस्थे। तर उनले आइतबार नयाँ आईजीपीको निर्णय भएसँगै प्रहरी प्रधान कार्यालयबाट आफ्ना सामान सारेका छन्।
प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार पोखरेलले आज आफ्ना सबै समान प्याक गरेर लगेका हुन्। यसअघि कार्यालयमै बस्ने भएकाले उनका लुगाफाटा लगायत धेरै सामान हेडक्वार्टरमै थिए।
मुद्दा लड्ने भएसँगै एक महिना लामो बिदा लेखर उनले हेडक्वार्टर पनि छाडेका हुन्। पोखरेल र थापाले सोमबार नै सर्वोच्चमा मुद्दा दायर गर्ने अनुमान गरिएको छ।
गृह मन्त्रालयले सर्वोच्चमा मुद्दा दायर हुनुपहिले नै दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी गरेको हो। दर्ज्यानी चिन्ह लगाइसकेपछि अन्तरिम आदेश दिने सम्भावना कम हुने भएकाले गृहले यस्तो तयारी गरेको हो।
प्रतिक्रिया