काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका छन्।
केही दिन पहिले नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए। स्थापितको उक्त भनाईको चर्को आलोचना भइरहेका बेला उनले प्रश्नकर्ता राउतमाथि आपत्तिजनक टिप्पणी गरेका छन्।
काठमाडौं महानगरपालिका-१० मा मंगलबार आयोजित कार्यक्रममा उनले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए। उनले भने, ‘मैले ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्ने रहेछ! महिलाले चाहिँ चिथोरे पनि हुने, पछारे पनि हुने, ढुंगाले हाने पनि हुने!’ नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तेजित पारिएको समेत स्थापितले बताए।
‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न! मान्छे पनि हो कि होइन जस्तो लाग्यो। अमानवले बोले जस्तो!’ प्रश्नकर्ता राउतको नाम नलिई उनले भने, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन। त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन। म फेरि पनि भन्छु। मेरो प्रवृत्ति यही हो।’
स्थापितले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे। आफू महिलामैत्री भएकै कारण उनीहरूसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने उनको भनाइ थियो। तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनले दाबी गरे। स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहोर्याए।
‘मैले दिने त फल हो नि। मैले गाली त दिन्न। म हिंसाको विरोधी। महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु। यो मेरो निजी प्राक्टिकल अनुभव। हाम्रो केही कर्मचारीहरूसँग काम गरेँ माडसाव भन्थ्यो। जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने। तर मेरो महिला साथीहरूले त्यसो गरेनन्’, उनले भने, ‘महिलाहरू अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो। त्यसैले मेरो धेरै फोटाहरू महिलासँग देखिन सक्छ। अव यही कारणले मैले आरोपित हुन जरुरी छैन।’
स्थापितले आरोप लगाउनेहरुलाई आफूले गालीमा जवाफ दिन नचाहेको बताए।
प्रतिक्रिया