बिर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्धनलाई पत्तासाफ पार्ने बताएका छन्।
गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावमा सत्ता गठबन्धनलाई पत्तासाफ पार्ने बताएका हुन्।
ओलीले नागरिकले आफ्नो विवेक प्रयोग गर्ने बताउदै जतिसुकै गठबन्धन गरे पनि त्यसको प्रभाव नपर्ने दाबी गरे । निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको ओलीले बताए ।
पूर्वप्रधानमन्त्री रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गरे। ‘मलाई डर के छ भन्ने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ। पाँच दल लाई एकैपटक कर्याककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन, उनले भने।
ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे। ओलीले पार्टीको प्रतिवद्धता लिएर जनतासँग जान निर्देशन दिए ।
ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए ।
प्रतिक्रिया