Developed By Kuldeep Sharma

पुस ९, २०७९

युवाको राजनीतिमा प्रौढको आशीर्वाद : गगनको उचाइमा कांग्रेसको दोस्रो पुस्ता त्रसित

काठमाडौं । बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा गगन थापाले कुल ८९ मतमध्ये जम्मा २५ मत पाए। अपेक्षित रुपमा ३२ देखि ३७ मत रहेको बताइएपनि उनले ७ देखि १३ मत कम पाएका थिए। अर्थात् उनकै पक्ष वा युवाहरुको पक्षमा उभिएको पक्षले पनि उनलाई मतदान गरेन। यसको सिधासिधी अर्थ हो आफू सरहका गगनको बढ्दो उचाइबाट दोस्रो पुस्ताका नेताहरु त्रसित छन्।

मान्छेको एउटा मानवीय स्वभाव हुन्छ कि उसले आफू सरह वा आफ्नै तहका अन्यले प्रगति गरेको देख्न सक्दैन बरु आफूभन्दा माथिल्लो तहको व्यक्ति जति बेकामी भए पनि उसैले जितोस् भन्ने सोच्छ। यही सामान्य मानवीय स्वभावका कारण कांग्रेसका दोस्रो तहका नेताहरु गगनसँग रुष्ट भए र उनलाई मत दिएनन्।

समकालीन राजनीतिमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल गगनभन्दा उमेरको हिसाबले जेठा नेता हुन्। अन्य दोस्रो पुस्ताका नेताहरु त यसैपनि गगनभन्दा जेठा नै छन्। तर उचाइको हिसाबले गगनले लिएको गतिले धेरैलाई त्रसित बनाएको देखिएको छ। यसमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता नेताहरु अपवादमा देखिए। बाँकी नेताहरुले भने गगनको उचाइबाट त्रसित भएको तथ्य संसदीय दलको नेताको चुनावमा देखिएको छ।

अहिलेको परिवेश हेर्दा युवाले आफूलाई नेतृत्वका रुपमा तयार पार्नै सकेका छैनन्। किनकि, युवाको राजनीति प्रौढको आशीर्वादमा निर्भर छ। त्यो वातावरण युवाकै कारण बन्यो।

युवा आफू तयार हुनेभन्दा पनि तयारी पारिने पङ्क्तिमा उभिनु यसको जड हो। कांग्रेस, एमाले, माओवादी र अन्य दलमा आफूलाई युवा पङ्क्तिमा उभ्याउने नेता धेरै छन्। तर, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालहरुको विकल्पमा उभिन सकेका छैनन्। प्रौढ नेतृत्वले जे भने पनि स्वीकार गर्नेहरूको जमात ठूलो छ।

कांग्रेस महामन्त्री गगन थापा उमेरले प्रौढतर्फ लम्कँदै छन्। तर, पनि उनलाई अहिलेसम्म प्रौढहरूको तुलनामा युवा मानिन्छ। र, पछिल्लो दशकका उनै गगन एक्ला नेता हुन्, जो प्रौढ नेतृत्वलाई मैदान उत्रेरै चुनौती दिन तयार भए। गगनले आफ्नो सक्रिय राजनीतिककाल निर्धारण गरिसकेका छन्। उनकै घोषणाअनुसार पुगनपुग दशक राजनीति गर्नेछन्। र, यो दशकमै प्रधानमन्त्री बन्ने उनको घोषणा हो। पहिलो प्रयास सफल भएन। तर, प्रौढ सभापति शेरबहादुर देउवासँग दलको नेताका लागि प्रतिस्पर्धा गर्नु चाहिँ उनको सफलता हो।

परिणामको दृष्टिले गगन पराजित भए। तर, उमेर र अनुभवका हिसाबले भीमकाय देउवासँग उनको प्रतिस्पर्धाले जितभन्दा ठूलो सन्देश दियो। कांग्रेसजस्तो परम्परागत पार्टीमा घगडान सभापतिविरुद्ध एउटा फुच्चे केटोले धावा बोल्यो १ भीमकाय उचाइका देउवाविरुद्ध फेदीबाट भएको ‘गगन साहस’ सामान्य सन्देश होइन। त्यो भन्दा ठूलो सन्देश गगनको नाममा बनेको एकता हो, त्यो एकताले दिएको सन्देश हो। जसले, युवाको बाटो खोल्ने बाटो देखाएको छ।

हरेक चुनौती खेप्न तयार रहेका गगनले चुनौती मोलेरै हासिल गरेको विजय र त्यसले चुमेको उचाइका कारण उनको उमेरका युवाहरु उनीप्रति नै आहारिस गर्ने गरेका छन्। यो अरु नभएर दोस्रो पुस्ताका नेतामा धेरै समस्या देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma