काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गरेका छन्। चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भरतपुर महानगरमा उठेका बागी उम्मेदवारले गठबन्धनलाई चुनाव जित्न केही असर नगर्ने बताए।
आफूलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ भन्ने नलागेको र धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने उनले बताए। गठबन्धन आफ्नो लाइनमा अगाडि बढेकाले बागी उम्मेदवारको धेरै चर्चा गर्नुभन्दा पनि आफ्नो काममा अगाडि बढ्दा सहज हुने प्रचण्डको भनाई थियो।
सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता चितवन पुगिसकेका छन्। भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्म्दवार छिन् भने उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्।
त्यस्तै एमालेका तर्फबाट विजय सुवेदी मेयरको उम्मेदवार छन्। नेपाली कांग्रेसका जगन्नाथ पौडेल मेयरमा बागी उठेका छन्।
प्रतिक्रिया