Developed By Kuldeep Sharma

March 15, 2023

कांग्रेस अझै एक साता सरकारमा नजाने

काठमाडौं। नेपाली कांग्रेसले लामो समयपछि आज केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्यो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू सहभागी थिए।

पार्टीका तत्कालीन वरिष्ठ नेता पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएकोमा कांग्रेसले बधाई तथा शुभकामना दिने निर्णय गरेको छ।

पौडेलले कांग्रेस छाडिसकेका छन्। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले कांग्रेससँगको आवद्धता टुंग्याएका हुन्। उनको राजीनामा सभापति शेरबहादुर देउवाले गत आइतबार स्वीकृत गरेका थिए।

राष्ट्रपति पौडेल संविधानको भावनाअनुसार अघि बढ्ने विश्वाससमेत कांग्रेसले लिएको छ।

कांग्रेसले गत फागुन १३ मै पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउँदा अरू ७ दलको समेत समर्थन जुटाएको थियो। फागुन २५ गतेसम्म आइपुग्दा ११ दलले कांग्रेस उम्मेदवार पौडेललाई मतदान गरेका थिए। केही स्वतन्त्र सांसदहरूले पनि पौडेललाई मत दिए।

पौडेललाई राष्ट्रपतिमा मत दिई निर्वाचित गर्ने सबै दलहरू तथा संघीय र प्रदेश सभा सांसदहरूलाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले धन्यवाद दिएको छ।

यस्तै चैत ३ मा हुने उपराष्ट्रपति चुनावमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवलाई मत दिने पनि कांग्रेसले निर्णय गरेको छ। जसपाले गत फागुन २५ मा राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवारलाई सहयोग गरेको थियो। ८ दलीय गठबन्धनमध्ये अधिकांश दलले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए।

कांग्रेसले संघीय र प्रदेश सभा सदस्यहरूलाई उपराष्ट्रपति चुनावमा जसपाका यादवलाई मत दिन निर्देशनसमेत दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा समसामयिक राजनीति र सरकारमा जाने विषयमा पनि केहीबेर छलफल चलेको थियो।

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनबारे पनि कुराकानी भएको र उम्मेवार हुन चाहने पार्टीका नेताहरूको नाम प्रस्ताव र सिफारिसका लागि केन्द्रीय कार्यालयले उपयुक्त समयमा पार्टीका तल्ला तहलाई निर्देशन दिने निर्णयसमेत केन्द्रीय कार्यसम्पादनले गरेको छ।

गत मंसिर ४ मा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र पनि रिक्त छ। यहाँ पनि उपनिर्वाचन हुन्छ। तर निर्वाचन आयोगले यहाँ उपनिर्वाचन मिति तोकिसकेको छैन।

कांग्रेसले गत पुस १० मा भत्किएको तत्कालीन गठबन्धन ब्युँताएको छ। राष्ट्रपति चुनावका बेला ब्युँताएको गठबन्धनबाट अब सरकार विस्तार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुनेबारे कांग्रेसले छलफल गरेको छ।

प्रवक्ता महतका अनुसार प्रधानमन्त्री दाहालले चैत ८ गतेभन्दा पहिले नै विश्वासको मत लिने तयारी गरेका छन्। ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने विषयमा छलफल हुन्छ,’ प्रवक्ता महतले भने।

गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डलाई समर्थन गरेकामध्ये नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएका थिए। ती दलहरूले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले पुन: विश्वासको मत लिन लागेका हुन्। यसअघि दाहालले गत पुस २६ मा विश्वासको मत लिँदा नेपाली कांग्रेसलगायत अधिकांश दलले विश्वासको मत दिएका थिए। त्यसबेला राष्ट्रिय जनमोर्चा र नेमकिपाले मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन।

कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउने र गठबन्धनका अरू दलहरू यो सरकारमा सामेल हुने बताइरहेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले चुनावकै बेलाको गठबन्धनलाई पुन: लयमा ल्याइएको र पौडेललाई राष्ट्रपति बनाउन सफल भइएकोबारे जानकारी गराएका थिए।

‘सँगै चुनावमा गएको गठबन्धनलाई पुन: लयमा ल्याइएको छ, पौडेलजीलाई राष्ट्रपति पनि बनाइयो,’ खड्काका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब हामी गठबन्धनलाई जोगाउँदै अघि बढ्ने हो। गठबन्धन अहिलेको आवश्यकता हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma