Developed By Kuldeep Sharma

May 10, 2022

देउवाको अपील : कुरा हैन, काम गर्नका लागि कांग्रेसका उम्मेदवारलाई जिताउनु होला

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन अपील गरेका छन्।

चुनाव प्रचार प्रसारको अन्तिम दिन देउवाले अपील जारी गर्दै स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार तथा स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ भएकाले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन्।

देउवाले अपीलमा भनेका छन्, ‘हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो। नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन्। अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु।’

नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी रहेको भन्दै देउवाले नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा नेपाली कांग्रेसको निर्णायक भूमिका रहँदै आएको उल्लेख गरेका छन्।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक-पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ,’ देउवाले भनेका छन्,’यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं।’

नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना-ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध रहेको उल्लेख छ।

कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको देउवाले अपीलमा उल्लेख गरेका छन्।

यस्तो छ अपील 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma