Developed By Kuldeep Sharma

April 30, 2022

सुदूरको ‘छाइल’माथि राजधानीमा विमर्श

काठमाडौं। डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छाइल’ उपन्यासको विमोचनसहितको विमर्श राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा भएको छ।

उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समिक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गरे।

एक महिना अघि नै बुक्स हिमालयले बजारमा ल्याएको उपन्यासमाथि वक्ताहरु साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए। कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार तथा समिक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम संचालन सुमन थापाले गरेका थिए।

साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरुको छाइल प्रष्ट रुपमा प्रस्तुत गरेको बताए। उपन्यासको मिठो भाषा शैलीले पनि पाठकले उपन्यास एक पल्ट पढ्न सुरु गरेपछि पुरै पढी नसकेर नरोकिने उनले विश्वास व्यक्त गरे।

यसका साथै उनले द्वन्दकालको कथा, बाल्यकालदेखि युवा अवस्थासम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पुर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको बताए।

त्यस्तै, माओवादी द्वन्दकालको कथाले माओवादीको न्याय र अन्यायको कथा सन्तुलन रुपमा प्रस्तुत नगरेको उनले टिप्पणी गरे।

त्यस्तै, मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पुर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहँदा बजारमा सुदूरपश्चिमको मौलिक कृति आउनु आफैमा सुखद भएको बताइन्। अन्सारीले लोक कथामाथि लोक भाषा शैली र स्थानीयदेखि अंग्रेजी शब्दहरु जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको र यो नै उपन्यासको बलियो पक्ष भएको बताइन्।

त्यसैगरी द्वन्दकालको कथासहित डोटेली सभ्यता पनि उपन्यासमा छाइलको रूपमा प्रस्ट आएको उनको भनाइ छ। सुदूरपश्चिम परिवेशमा आमाबुवाको संघर्ष समान रुपमा भएता पनि लेखकले एउटा आइडल आफ्नो बुवालाई मानेको हुँदा बुवाकै कथा र संघर्षमा उपन्यास बढी घुमेको र आमाको संघर्षको कथा समानन्तर रुपले जोडेको भए उपन्यास अझ सशक्त हुनेउनले टिप्पणी गरिन्।

लेखकले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँ मान्छेहरुको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको उनले प्रस्ट पारिन्।

लेखक भट्टले अग्रज साहित्यकारसंगको लामो छलफल र परामर्शपछि मात्रै उपन्यास बजारमा ल्याएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma