काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने तथा प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका हुन्।
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिँदै सिंहले भने,‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु।’मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरेर आर्थिक संवृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको सिंहको भनाई थियो।
नेपाल प्रहरीको बल भनेको त्यहाँ कार्यरत व्यावसायिक प्रहरी कर्मचारी भएको उल्लेख गर्दै आईजीपी सिंहले उनीहरू सक्षम र व्यावसायिक भए मात्र अपराध नियन्त्रण गर्न सकिने बताए। उक्त समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरूलाई फुली लगाएका हुन्। नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।
प्रतिक्रिया