काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्।
वीपी राजमार्ग अन्तर्गत उक्त सडक खण्डमा काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काभ्रे प्रहरीका प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन्। मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन्।
घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन्। घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको उनले बताए।
प्रतिक्रिया