काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपाल फितलो बलिङका कारण पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८१ रनको सम्मानजनक योगफल तयार गर्यो। नेपालका लागि आदील आलमले अविजित रहँदै २७ बलमा सर्वाधिक ४७ रन बनाए। यस्तै ओपनर कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे।
हित पौडेलले २६ बलमा ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए। आसिफ शेख ९ रनमा आउट हुँदा करण केसी ४ रनमा अविजित रहे। आरिफ शेख २ रनमा आउट भए। जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १-१ विकेट लिए।
जवाफमा जिम्बावेले आकर्षक ब्याटिङ गर्यो। जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो। टाडिवान्से मारुमानीले ४१ बलमा ५६, कप्तान टोनिओंगाले २३ बलमा ५० रन बनाए। ओपनर इनोसेन्छ काइयाले ३० बलमा ४७ रन बनाए। नेपालका लागि बासिर अहमदले २ तथा सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको हो। सिरिज अन्तर्गत नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ।
प्रतिक्रिया