Developed By Kuldeep Sharma

January 4, 2023

नेपाल टी–२० लिग चरम विवादमा : ‘फिक्सिङ’देखि भ्रष्टाचारको डरलाग्दो अवस्था

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सबैभन्दा महत्त्वकांक्षी योजनाका रूपमा रहेको नेपाल टी–२० लिग चरम विवादमा फसेको छ । जसको असर मंगलबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पनि देखियो ।

आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै खेलाडीले टस गर्न मानेनन् । प्रतियोगितामा आमंगलबार पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाडौं नाइट्सले प्रतिस्पर्धा गर्दै थिए । दुवै टिम समयमै मैदान पुगेपनि टसका लागि तयार भएनन् । उनीहरूको माग थियो– आफूले पाउनुपर्ने पारिश्रमिक रकम नपाएसम्म खेल नखेल्ने ।

पछि क्यान पदाधिकारी र खेलाडीबीच बुधबारसम्म रकम उपलब्ध गराउने सहमति भएपछि टस भएको थियो । र, खेल ९ ओभरमा छोट्याइएको थियो । खेलमा काठमाडौं ३४ रनले विजयी भएको छ ।

खेलपछि भएको पत्रकार सम्मेलनमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ले अर्को खुलासा गरे– हाम्रो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आयो ।

“अरू टिमको कुरा थाहा भएन । हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो । नियमअनुसार हामीले यो रिपोर्ट एसीयूलाई गरेका थियौँ,” खेलपछि नेपालका पूर्व कप्तान मल्लले भने, “एप्रोच र फिक्सिङ कुरा फरक हो । अप्रोच गर्‍यो भन्दैमा फिक्सिङ गर्छ भन्ने पनि हुँदैन । कसैले तपाईंलाई जे पनि प्रस्ताव गर्न सक्छ । त्यो सबैले स्वीकार गर्छ भन्ने हुदैन । हामीले रिपोर्ट गरिसकेका छौँ । एसीयूले डिक्लेयर पनि गरिसकेको छ ।”

क्यानले नेपाल टी–२० लिग सञ्चालनका लागि भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’लाई रणनीतिक एवं व्यावसायिक साझेदारका रूपमा नियुक्त गरेको थियो । भारतीय कम्पनी नियुक्त गर्दा नै नेपाल टी–२० लिग विवादमा परेको थियो । सेभेन थ्री स्पोर्ट्सलाई नै शंकास्पद रूमा हेरिएको थियो । क्यान कार्यसमितिमै यसबारे विवाद भएको थियो ।

क्यानले सुरुमा १० वर्षका लागि सम्झौता गरेको थियो । तर, क्यानमा विवाद भएपछि सम्झौता रद्द गर्ने निर्णय पनि गरेको थियो ।

०७८ असोज २० र २१ गते काठमाडौंमा सम्पन्न बैठकले गरेको निर्णयमा भनिएको छ, “भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल क्रिकेट संघले नेपाल टी–२० लिग आयोजना गर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमतिपूर्व गर्नुपर्ने सम्झौताअनुरूपका कार्यहरू सम्पन्न गर्न नसकेको हुँदा उक्त सम्झौता रद्द गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।”

तर, क्यानले पुनः सोही कम्पनीसँग ८ वर्षका लागि ३३ करोड रूपैयाँमा प्रतियोगिता आयोजना गर्न दिने निर्णय गर्‍यो । सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णयमा पुगेको क्यान एकाएक कसरी पुनः सोही कम्पनीलाई आठ वर्षका लागि सम्झौता गर्न पुग्यो भन्ने प्रश्न जीवित नै छ । तथापि उसले सरकारको अनुमतिलाई बाहना बनाएको थियो ।

पछिल्लो समय आयोजकका प्रमुख जतिन आहलुवालिया नै सम्पर्कविहीन भएको भनिएको छ । र, प्रतियोगितामा ‘फिक्सिङ भइरहेको’ आरोप लागेको छ । नेपाल टी–२० लिगमा कमेन्टेटर रहेका सचिन तिमल्सिनाले पनि यस विषयमा बोलेका छन् ।

मंगलबार बिहान समाजिक सञ्जाल फेसबुकमा एक भिडियो अफलोड गर्दै सचिनले भनेका छन्–

“नेपाल टी–२० लिगमा जोडिएको आज १० दिन भयो । कमेन्टेटरका रूपमा जोडिएको हुँ । दश दिनमा मेरा केही अनुभव छन् । जुन कुरा मैले यहाँ भनिन भने नेपाली क्रिकेट र म आफैँलाई अन्याय गरेको जस्तो लाग्छ । धेरै यस्ता क्षणहरू मैले मैदानमा देखेँ जुन घटना मलाई धेरै आश्चर्यजनक लाग्यो । एसीएलमा फिक्सिङको धेरै कुरा आएका थिए । क्रिकेटमा फिक्स्ड कसरी हुन्छ भनेर मैले पहिलोपटक त्यही अनुभव गरेको थिएँ । क्यान नै संलग्नता भएका कारण यहाँ क्रिकेट चै सफा रहन्छ भन्ने मेरो ठूलो अपेक्षा थियो । तर, यहाँ यस्ता यस्ता घटना देखेँ यो विवादस्पद मात्र होइन । जहाँ क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने खालका क्रियाकलाप देखेँ । आजभोली म्याच फिक्सिङ हुँदैन । स्पट फिक्सिङ हुन्छ । रिजल्टमा असर गर्दैन तर खेलका दौरान यस्ता क्रियाकलाप हुन्छ । जुन गर्नका लागि पहिले नै भनिएको हुन्छ ।”

सचिले लिग नै भ्रष्टाचारीको हातमा गएको बताएका छन् । उनले पनि आफूले क्यानका पदाधिकारीसँग कुराकानी गर्न खोज्दा केही सिप नलागेको भन्दै सार्वजनिक रूपमा बोल्न बाध्य भएको बताएका छन् । खेलका दौरान भएका केही घटनाहरूको उदहारण दिँदै सचिनले थपेका छन्–

“यो लिगमा हदसम्मको बदनियत देखिन्छ । क्यानका पदाधिकारीहरूसँग पनि कुरा गरेँ । केही नलागेपछि यो भिडियो बनाउन बाध्य भएको छु । नेपाल टी–२० लिग करप्सनको हातमा गएको छ । फिक्सरको हातमा गएको छ । नेपाली क्रिकटलाई बिगार्न यसको सबैभन्दा ठूलो हात हुन्छ । म यत्तिकै बोलिरहेको छैन । क्रिकेट कमेन्टेटर गर्ने मान्छे प्रत्येक बल नियालेर हेर्नुपर्ने हुन्छ । नियालेर हेर्दा मैले त्यो देखेँ । सबैले सबैलाई रिपोर्ट गरेँ कसैबाट केही पार लागेन ।”

नेपाल टी–२० लिगका लागि क्यानले रणनीतिक र व्यावसायिक साझेदार बनाइएको सेभेन थ्री स्टोर्ट्सबारे सुरुबाटै विवाद आएको थियो । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभामा पनि यस विषयमा बोलेका थिए । उनले क्यान र भारतीय कम्पनीबीचको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए । तर, क्यान पदाधिकारीले त्यसलाई नजरअन्दाज गरे । सरकारले बेवास्ता गर्‍यो । आफैँले सम्झौता रद्द गर्ने निर्णय गरेर क्यान पुनः त्यही कम्पनीसँग सम्झौता गर्न पुग्यो । अहिले क्यानलाई यो टाउको दुखाइको विषय बनेको छ ।

“अहिले जे भइरहेको छ, त्यो सुरुदेखि हुन्छ भन्ने थियो । यस्तो दुरूपयोग हुन्छ भनेर मैले क्यानलाई चेतावनी दिएको थिएँ । तर उनीहरू आकर्षक अफर र चम्किलो सपना बोकेर बसे,” एभरेस्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले भने, “दुर्भाग्य पारस खड्का र उनको टिमले ट्वान्टी–२० विश्वकपसम्म पुर्‍याउन जुन कडा परिश्रम गरेका थिए । क्यानको एक कुरूप निर्णयले त्यो व्यर्थ भयो । नेपाल क्रिकेट आफ्ना समर्थक, प्रायोजक, मिडिया र अन्य धेरै सरोकारवालाहरूको ऋणी छ । निश्चितरूपमा यो सम्झौताका दोषीहरूलाई कडा कारबाही हुनुपर्छ । नेपाल सरकारले हस्तक्षेप गरेर नेपाली क्रिकेटको रक्षा गर्नुपर्छ ।”

क्यान कार्यसमिति कै सदस्य मोहम्मद दाउद अन्सारीले नेतृत्वलाई भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको दलाल भएको गम्भीर आरोप लगाएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “खासगरी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको दलालको रूपमा प्रस्तुत हुँदै आएका प्रशान्त मल्लले कार्यबाहक सचिवको जिम्मेवारी पाएदेखि नै नेपाली क्रिकेटको कालो दिनको थालनी भयो । उनको व्यक्तिगत महत्त्वकांक्षा, अदूरदर्शी निर्णय र असक्षम नेतृत्व तथा सम्भावित आर्थिक लोभका लागि नेपालको प्रचलित कानुनलाई समेत मिच्दै गरिएको विभिन्न निर्णयले नेपाली क्रिकेट सबैभन्दा अप्ठ्यारो स्थितिमा पुगेको छ ।”

अन्सारी क्यान निर्णयको विरोध गर्ने ६ केन्द्रीय सदस्यमध्येका एक हुन् । अन्सारीसहित क्यानका ऋषिराम गौतम, आमितवीर पाण्डे, करन महतारा, सञ्जयराज सिंह र छुम्बी लामाले विरोध गरेका थिए । छुम्बीले पनि आजै फेसबुकमा स्ट्याटस खेल्दै नेपाली क्रिकेटमा दलाल र तस्कारले कब्जा जमाएको भान भएको बताएका छन् ।

“टी–२० लिगको असली नियतमाथि गम्भीर प्रश्न उब्जिन सुरु भएको छ । जारी प्रतियोगितामा विभिन्न गतिविधिहरू हेर्दा नेपाली क्रिकेट दलाल र तस्कारले कब्जा जमाएको भान भइरहेको छ,” छुम्बीले लेखेका छन्, “निकट भविष्यमा समयले धेरै कुरा थप प्रष्ट पार्दै जाला । अहिलेलाई नेपाली क्रिकेटको संरक्षणको गर्न सम्बन्धित सरोकारवाला गम्भीर भएर अनुसन्धान गर्न जरुरी देखिएको छ ।”

विवादबारे बुझ्न क्यानका पदाधिकारीसँग कुराकानी गर्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।

‘क्यानले अरूलाई पनि गर्न दिएन, आफूले पनि गरेन’
क्यानले नेपाल टी–२० लिग गर्नुअघि तीनवटा लिग सञ्चालनमा थिए । धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग सञ्चलनमा थिए । क्यानले टी–२० लिग गर्ने भएपछि अरूले लिग गर्न नपाउने भन्यो । अन्य चुप बसे । एभरेस्ट प्रिमियर लिगले भने अदालतमा मुद्दा दायर गरेको थियो । जुन अझै पनि विचाराधीन अवस्थामा छ ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको र चौतर्फी विरोध भएपनि क्यानले टी–२० थालेको हो । पटकपटक मिति सारिएको प्रतियोगिता मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भएका छन् ।

एभरेस्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले क्यान ‘बाँदर जस्तै’ प्रमाणित भएको बताएका छन् ।

“बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूको घर न भत्काउँछ भन्छन् नि । त्यस्तै भयो क्यान पनि,” अख्तरले बाह्रखरीसँग भने, “न अरूले गरिरहेको लिग गर्न दियो । न आफूले ढंग पुर्‍याएर गर्न सक्यो । अब ईपीएल मात्र होइन । नेपाली क्रिकेट नै धरापमा पार्ने काम भयो । त्यसकारण यस्तो गम्भीर अपराध गर्नेहरूलाई कारबाही गर्नुपर्छ । क्यानलाई सम्भावित पब्लिक फ्रड गरेको विषयमा छनविन गर्नु आवश्यक छ । र, सबै मिलेर नेपाली क्रिकेटलाई बचाउनुपर्छ ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma