काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।
क्यानडाको किङ्ग सिटीमा हुने त्रिकोणात्मक सिरिजको दोस्रोखेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ। यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन्।
अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टु सकाएका थिए। अघिल्लो संस्करणमा नेपाल र ओमान ६ खेलमा आमने सामने हुँदा ४ खेल ओमानले तथा २ खेल नेपालले जितेको थियो।
यो संस्करणमा ४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ। यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।
सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। ओमानले भने यो सिरिजमा पहिलो खेल खेल्दैछ।
नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ।
ओडिआई सिरिज सकिएको २ दिन पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ। सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ।
त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ।
प्रतिक्रिया