Developed By Kuldeep Sharma

भदौ २७, २०७९

रक्सी खाएर दु:ख दिएको झोकमा श्रीमतीको हत्या

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका-३ स्थित फुलचोकी जंगलमा सोमबार भेटिएको शव ४७ वर्षीया रुपा क्षेत्रीको भएको पुष्टि भएको छ।

रौतहटको हजारिया माइती भएर ललितपुर महानगरपालिका-२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपाको भएको प्रहरीले पुष्टि गरेको हो। रुपाको हत्या उनकै श्रीमान घ्याल्मो लामाले गरेको प्रहरीले दाबी गरेको छ।

लामालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए। ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका-९ का स्थानीय हुन्।

काठमाडौं उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

‘लगातारको घर झगडाले हत्याको रूप लिएको देखिन्छ’ एसएसपी पोखरेल भन्छन्–‘हत्याबारे थप अनुसन्धान हुँदै छ।’ रुपा घ्याल्मोकी तेस्री श्रीमती हुन्। रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन्।

प्रहरीका अनुसार भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे। गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे।

गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ। रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन्। रुपाबाट बच्चा छैनन्।

हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि घर फर्किएका उनलाई छोरीहरूले आमा खोइ ? भनेर सोध्दा झगडा गरेर सोलुखुम्बु जान्छु भनेर हिँडेको र ३ वर्ष आउँदिन भनेकी जवाफ दिए। स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेपछि १० दिनअघि हत्याको घटनाको रहस्य खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma