काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन्। नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गर्दै यस्तो बताएका हुन्।
जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरूको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे। उनले कांग्रेस पार्टी सकिन लागेको भन्दै यस्तो हुँदा पनि कार्यकर्ताले के हेरेर बसेका छन् भनेर प्रश्न गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए। ‘अस्ति भर्खर मात्र यहाँ नेताहरू आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरूले सुन्नुभएको होला ? एउटा नेताले के बोल्नुभएको छ ?’ ओलीले प्रश्न गरे।
उनले भने, ‘चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ। रुखवालाले खुरुखुरु राजीखुशीले भोट हाल्दैनन भने दुर्घटना हुन्छ।’ प्रचण्डको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु, उत्साहित हुन्छ, १०,१५, २० बर्ष गठबन्धन टिकाइदिन्छु।’
प्रचण्डको धम्काउने बानी अझै नगएको उनको भनाइ थियो। ‘जनतालाई धम्क्याउने, हेर्नुस त!, धम्क्याउने बानी अहिलेसम्म गएको रहेनछ। धम्क्याउने बानी परेकाहरू, धम्क्याएर खाने बानी परेकाहरू अहिलेसम्म पनि गएको रहेनछ’, ओलीले धम्क्याउने बानी भएपनि अव त्यस्तो जमाना गएको बताए। उनले भने, ‘धम्क्याएर अव चल्दैन, कसैले धम्क्याएर कुनै दुर्घटना हुँदैन, दुर्घटना होइन बरु गठबन्धनले हार्छ। नत्र भन्नेले चिसै पानीले नुहाउँछ।’
उनले प्रचण्डका छोरीलाई जिताउनुपर्ने तर जीन्दगीभर कांग्रेस भएकाहरुको अवस्था हेर्नुस् त भन्दै प्रश्न गरे। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले फेरि प्रचण्डलाई जिताए कांग्रेसका कार्यकर्ताको हालत २० वर्षसम्म छोरी बोक, छोरो बोक, भाइ बोक, ज्वाई बोक गर्नमै सिमित हुने टिप्पणी गरे। उनले प्रकाशमान र प्रचण्डलाई निर्वाचन आयोगले किन कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे।
‘धम्क्याएका भरमा भोट लिन खोज्ने यो आचारसंहिता विपरित हो कि होइन?’, ओलीको प्रश्न छ। उनले निर्वाचन आयोगले गठबन्धनमा रहेकालाई जे गाएपनि छुट दिएको आरोप समेत लगाए।
प्रतिक्रिया