काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब तीनै तहको सरकार कांग्रेसले चलाउने उद्घोष गरेका छन्। मंगलबार भक्तपुरको चाँगुनारायणमा आयोजित चुनावी सभामा थापाले पाँच वर्ष कांग्रेसले स्थानीय, प्रदेश र संघीय सरकार चलाउँने जनाएका हुन्।
नेकपाले सरकार चलाउन नसकेको भन्दै थापाले अब कांग्रेसले चलाएर देखाउने बताए। चुनाव सकिएलगत्तै कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई तालिम दिने र जनताको सेवक बन्न सिकाउने उनले बताए।
कांग्रेसका जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने दाबी गर्दै उनले भने, ‘जनताको पैसा खानु आफ्नै परिवारका सदस्यको रगत चुसेजस्तो हो।’ मौन अवधि सुरु हुनु अघिल्लो दिन आयोजित सभामा गगनले भने, ‘मध्यरातसम्म खटिऔँ, भोलि दुई दिन थप मेहनत गरौं। किनकी दुई दिनमा जे पनि हुनसक्छ। हामीले नेपालका कम्युनिस्ट पार्टीको चरित्र राम्रोसँग बुझेका छौँ। हामीले जम्मा गरेको मत फेरि रातारात कता लिएर जान बेर छैन। त्यसैले ध्यान पुर्याएर यसलाई सम्हाल्ने काम गरौँ।’
प्रतिक्रिया