काठमाडौं। बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
ठेकेदारसँग मिलेर प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलनमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
भ्रष्टाचार आरोपमा तत्कालीन वडाध्यक्ष जीवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ख) अनुसार विशेष अदालतमा मुद्दा दायर गरी अख्तियारले १ करोड ७४ लाख बिगो दाबी गरेको छ।
उनीहरूले बागलुङ नगरपालिकाले ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा १७ लाख ४० हजार रुपैयाँ नोक्सानी गरेको आरोप अख्तियारको छ।
प्रतिक्रिया