Developed By Kuldeep Sharma

July 13, 2022

युवतीलाई भारतमा बेच्न खोजेको १ जना पक्राउ

पर्सा। एक युवतीलाई भारततर्फ बेचविखन गर्न लैजान लागेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पर्साको वीरगञ्जबाट रामेछापको मन्थली नगरपालिका-१४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई पक्राउ गरेको हो। २२ वर्षीया युवती लिएर हिँडेका घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनी माइती नेपालको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ परेका हुन्। घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाएर काठमाडौंबाट वीरगञ्ज लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

असार २७ मा काठमाडौंमा भेटेर उनले वीरगञ्ज बसपार्क लगेका हुन्। युवतीलाई उनले प्रहरीले चेकपोस्टमा सोधेमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नु भनेर सिकाएको बुझिएको छ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसूरमा प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma