काठमाडौं। जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेका छन्।
एसिया कप क्रिकेटको जारी खेलमा आज नेपालका लागि शतक र अर्धशतक बनाउने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै शतक बनाउनेलाई एक लाख र अर्धशतक बनाउनेलाई पचास हजार राशीको पुरस्कार दिने बताएका छन्। त्यस्तै विकेट तर्फ ह्याट्रीक लिने बलरलाई पनि ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्।
नेपाली क्रिक्रेटरलाई हौसला बढाउनका लागि आफूले व्यक्तिगत तर्फबाट पुरस्कृत गर्ने उनको भनाई छ। मधेस प्रदेशका विभिन्न स्थानीय तहले एसिया कप हेर्नकै लागि विदा समेत दिएको छ।
छिमेकी राष्ट्र भारतसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुरेको थियो। सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले आज पहिलोपटक भारतको सामना गरिरहेको छ। यो ऐतिहासिक क्षणमा खेलाडीहरुको हौसला बढाउनुका साथै खेलाडी र खेलप्रेमीहरुको सम्मान स्वरुप पुरस्कार घोषणा गरेको जनाएका छन्।
प्रतिक्रिया